नयाँ पार्टी घोषणा गर्नका लागि बुधबार पत्रकार सम्मेलन गर्ने रावलको तयारी

  Sampatti News

December 30, 2024

काठमाण्डू, नेकपा एमालेको साधारण सदस्यसमेतबाट निष्काशन भएका नेता भीम रावलले नयाँ पार्टी घोषणा गर्ने भएका छन्।

नयाँ पार्टी घोषणा गर्नका लागि बुधबार पत्रकार सम्मेलन गर्ने रावलको तयारी छ। यसका लागि रावलले काठमाडौँको कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाएका छन्।

एमालेबाट कारबाहीमा परेपछि रावलले नेता तथा कार्यकर्तासँग छलफल तीब्र बनाएका छन्।

रावलको सचिवालयले भने नयाँ पार्टी घोषणा हुने आधिकारिक रूपमा बताएको छैन। सचिवालयले विशेष घोषणा मात्र भनेको छ।

रावल निकट स्रोतका अनुसार माधव नेपालको नेकपा एकीकृत समाजवादीले पनि रावललाई पार्टीमा आउन आग्रह गरिरहेको छ। तर, त्यो विषयमा रावलले उति चासो देखाएनन्।

दशौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएर एमालेले बुधबारको सचिवालय बैठकबाट रावललाई निस्कासन गरेको छ।

दसौँ महाधिवेशनमा रावलले ओलीविरुद्ध उम्मेदवारी दिएका थिए। तर उनी ओलीसँग पराजित बनेका थिए।

एमालेबाट आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रन भीम रावलले आफू पक्षका कार्यकर्तालाई अपिल गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका थिए।

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका थिए।

रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई ओलीको सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही निर्णय भन्दै आएका छन्।

प्रकाशित मिति:December 30, 2024