December 31, 2024
सर्लाही, सर्लाहीको नयारोड सडकखण्डमा उखु बोकेको ट्याक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनामा संलग्न ट्याक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति:December 31, 2024