एमाले अध्यक्ष ओलीलाई रावलका प्रश्नैप्रश्न

चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी

  Sampatti News

January 1, 2025

काठमाण्डू, एमालेको कारबाहीमा परेका भीम रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई प्रश्नैप्रश्न गरेका छन्।

ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको लगायतका विषयमा प्रश्न उठाउँदै बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनबाटै उनले स्पष्टीकरण सोधेका हुन्।

ओलीले आफूले उठाएको विषयमा चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी दिए।

त्यसक्रममा उनले ओलीलाई विभिन्न समयमा राष्ट्रहित विपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिवद्धता पुरा नगरेको, सङ्क्रमणकालीन काम, द्रुतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौताबारे के गर्नुभयोरु भनेर प्रश्न गरे।

उनले घरघरमा खाना पकाउने ग्यास पाइप, पानी जहाज, अन्तरिक्षमा आफ्नै यान र नेकपा विवादबारे प्रश्न गरे।

उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन्।

उनले नेकपा विभाजन र एमाले विभाजनको मुख्य कारक पनि ओली नै भएको उनको आरोप छ। यस्तै विष्णु पौडेल मुछिएको बालुवाटार काण्डमा जोगाउने मुख्य मतियार पनि ओली नै भएको आरोप लगाएका थिए।

ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलको दाबी छ।

‘‘अतः देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईं केपी ओलीले जवाफ दिनैपर्छ ।

अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन ०८४, मिसन पतन’ सावित हुनेछ,’ रावलले भने।

प्रकाशित मिति:January 1, 2025