संसदीय समितिले पारित गर्‍यो क्याबिनेटका निर्णयमा अख्तियारले अनुसन्धान गर्न पाउने विधेयक

  Sampatti News

January 2, 2025

काठमाण्डू, भ्रष्टाचार निवारण ऐन-२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक सर्वसम्मतिबाट पारित गरेको हो।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए। खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतिबाट पारित गरिएको हो।

विधेयक पारित गर्नुअघि उक्त विधेयकबारे सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो।

उपसमितिले संघीय सरकार र प्रदेश सरकारले गरेका नीतिगत निर्णय बाहेकका निर्णयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दिने व्यवस्था प्रस्ताव गरिएको छ।

अख्तियारले हालसम्म मन्त्रिपरिषदबाट भएका सबै निर्णयलाई नीतिगत निर्णयका रूपमा अर्थ्याउँदै मन्त्रिपरिषद्को नेतृत्वमाथि मुद्दा चलाउने गरेको छैन।

तर, यो विधेयक कानून बनेर आएपछि मन्त्रिपरिषद्को नेतृत्वमाथि पनि अनुसन्धान गर्न सक्नेछ।

प्रकाशित मिति:January 2, 2025