सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छ : महामन्त्री थापा

  Sampatti News

January 4, 2025

पोखरा, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन गर्दा गणतन्त्र, संघीयता, समावेशिता नचलाउने बताए ।

उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीले हरेक १० दिनमा सरकार बदलिँदैन भन्नुपर्ने अवस्था छ । आज मन्त्री भइरहेकाले भोलि बिहान हुन्छु कि हुन्न भन्नेमा छ ।

सुरुमा अहिले सबैको भाषणा यो सरकार बदलिँदैनबाट सुरु हुन्छ । बाहिर देशहरुमा पनि गठबन्धनको सरकार नहुने होइन ।

त्यसमा पनि एउटा संस्कार र संस्कृति हुन्छ । त्यो हाम्रो स्वभावसँग मिलेन । त्यसैले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ, त्यसले सरकार चलाउँछ ।

हामीलाई समावेशिता पनि चाहिएको छ। त्यसैले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीमा काम गर्छौं ।’ महामन्त्री थापाले कांग्रेस ठूलो पार्टी भएकाले जिम्मेवारीबोध गरेर काम गर्नुपर्ने बताए ।

उनले संघीयता कसैले नबोकाइदिएको भन्दै प्रदेश सरकार कायमै राख्ने बताए । उनले प्रदेश र स्थानीय सरकारलाई धारिलो बनाउनेगरी २०८४ सम्ममा सरकारले कानून बनाउने बताए ।

प्रकाशित मिति:January 4, 2025