January 5, 2025
काठमाण्डू, नेकपा माओवादी केन्द्रले तत्काल महाधिवेशनको मिति नतोक्ने भएको छ।
अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने भएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए।
पार्टीको स्थायी कमिटी बैठकमा विशेष महाधिवेशनमा जाने वा नियमित महाधिवेशनमा जाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्ष निकाल्न नसकेको उनले जानकारी दिए।
यो केन्द्रीय समिति बैठकले महाधिवेशनको आधार तय गर्ने र अर्को केन्द्रीय समिति बैठकले आयोजक समिति बनाउने उपमहासचिव हरिबोल गजुरेलको भनाइ छ।
‘अहिले सङ्क्रमणकालीन अवस्था छ। पार्टीप्रति जनताको आकर्षण बढ्दै गइरहेको यो बेला महाधिवेशनको आधार तयार गर्ने र अर्को केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्छ,’ उनले भने।
बैठकमा वैचारिक राजनीतिक आधार तयार गर्ने विषयमा पनि छलफल भएको उनले बताए।
यस्तै पछिल्लो समय पार्टी एकतामा आएका नेताहरूलाई केन्द्रीय समिति बैठकमा बोलाउने निर्णय भएको उनले जानकारी दिए।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई जिम्मेवारी दिने विषयमा प्रस्ताव आए पनि निर्णय भएको छैन।
यस्तै सचिव देवेन्द्र पौडेलले अहिले पार्टी संगठनमा देखिएको भद्रगोल अवस्थालाई अन्त्य गर्न संयन्त्र बनाएर जानेबारे छलफल भएको बताए।
यसैगरी बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले संगठनात्मक सिद्धान्तबारे छलफल केन्द्रित भएको बताएका थिए।
‘स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे छलफल भयो। अहिलेसम्म हामीले सामान्यतः मालेमावादको सिद्धान्त मानेर आइरहेका छौँ ।
अहिलेको विज्ञान र प्रविधिको जमानामा नयाँ संगठनात्मक सिद्धान्त आवश्यक रहेकोबारे छलफल भएको छ। यसलाई क्रमभंग गरेर जानुपर्छ भन्नेमा छलफल भएको छ,’ उनले भने।
उनका अनुसार उद्घाटनपछि प्रदेश अध्यक्षले रिपोर्टिङ गर्ने र त्यसपछि मात्र प्रचण्डले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको उनले जानकारी दिएका थिए।
प्रकाशित मिति:January 5, 2025