अध्यक्ष ओलीले जवाफ दिएपछि एमाले केन्द्रीय कमिटी बैठक आजै टुंगिने

  Sampatti News

January 7, 2025

काठमाण्डू, नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक तेस्रो दिनको बैठकमा अध्यक्ष केपी ओलीको प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यले बोलिरहेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा अहिलेसम्म ९८ जनाले आफ्नो धारणा राखेका छन्।

त्यसपछि बैठकमा अध्यक्ष ओलीले जवाफ दिनेछन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केही समसामयिक विषयका प्रस्तावहरु पारित गरेर आजै बैठक समापन गरिनेछ।

यता एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा भने ‘पहिचान आन्दोलनप्रति तीव्र रोष प्रकट गरिएको छ ।

साथै, पहिचानको नाममा जातीय सद्‌भाव खल्बल्याउन प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले भूमिका खेलेको आरोपसमेत लगाएको छ ।

एमाले प्रतिवेदनमा भनिएको छ– तत्कालीन प्रधानमन्त्री प्रचण्डले स्वयं समाजिक सद्‌भाव बिथोल्न र अतिवादलाई बढावा दिन थाले ।

प्रतिवेदनमा अर्को एक ठाउँमा प्रसङ्गवश यसो भनिएको छ –आज माओवादी केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यको समेत सहभागितामा नामकरण गरिएको ‘कोशी’को विरुद्ध उग्र जातीयतावादी समूहसँग मोर्चाबन्दी गरिरहेको छ ।

उ राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुर्‍याउन उद्धत देखिन्छ ।

करिब १ वर्ष अगाडिको इलाम उपनिर्वाचनको चर्चा गर्ने सन्दर्भमा समेत पहिचान आन्दोलनलाई लक्षित गर्दै एमाले प्रतिवेदनले, ‘विभिन्न जातिवादी समूहको हैसियत पनि प्रष्ट पार्‍यो’ भनिएको छ ।

यद्यपि इलाम उपनिर्वाचनमा पहिचान पक्षधर उम्मेदवारले सम्मानजनक तेस्रो स्थान ल्याएका थिए ।

प्रतिवेदनमा इलाम उपनिर्वाचनमार्फत, ‘पहिचानको नाममा उग्रजातीय राजनीति गर्दै समाजलाई विभाजित गर्ने प्रयासलाई निष्फल तुल्याइएको’ दाबी गरिएको छ ।

स्मरणीय कुरा के छ भने पूर्वी नेपालमा अहिले पनि ‘नो कोशी आन्दोलन’ जारी छ र केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई जसपा नेपाल, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टीजस्ता पहिचानवादी भनिएका दलको समर्थन छ ।

यीमध्ये कतिपय दल अहिले सरकारमा पनि सामेल छन् । तर, ओली सरकारलाई समर्थन र सत्ता साझेदारी गरिरहेका कथित पहिचानवादी दलहरूले एमालेको यस्तो धारणामा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रकाशित मिति:January 7, 2025