January 7, 2025
काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्व गर्नेहरूको मति ठिक नभएको हुनाले गति पनि ठिक नभएको बताएका छन् ।
महामन्त्री थापाले भने, ‘नेतृत्व गर्नेहरूको मति ठिक नभएको हुनाले गति पनि ठिक नभएको मलाई लागेको छ ।
मति ठिक नभएको कुरा खासगरि भ्रष्टाचारसँग जोडिएको छ । आम नागरिकले के सोच्छ भ्रष्टाचारकै कारणले गर्दा हामीले गति लिन सकेको छैन ।
नत्र हामीलाई विश्वास नगरेको हो र, विश्वास भए पनि किन ठिक तरिकाले विकास र परिवर्तन गर्न सकिरहेका छैनौ भ्रष्टाचारले गर्दा, भ्रष्टाचारले यसरी गाँज्यो की हामीले ठिक गति समात्न सकेनौँ भन्ने कतिलाई लागेको छ भने यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा हामी छौँ । त्यसलाई न्यून गर्ने तर्फ काम गरेर देखाउनु पर्ने छ ।’
मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सबै जना भ्रष्टाचारमा गाँजिएको भन्दै जनताको विश्वास भएपनि ठिक तरिकाले विकास र परिवर्तन नभएको बताए ।
उनले जनताले सुनेका जति पनि काण्डहरू छन् त्यसको लामो लिस्ट बनाएर सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने भन्दै त्यसमा जतिसुकै शक्तिशाली प्रधानमन्त्री, मन्त्री भएपनि नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले नछोड्ने बताए ।
उनले भने, ‘जनताले सुनेका काण्डहरू जति पनि छन्, लामो लिस्ट बन्छ, त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पार्ने, यस भित्र भएको प्रत्येक काण्डहरू अख्तियारले गर्छ, हामीलाई विश्वास छ ।
अख्तियारले गर्न सक्दैन, कुनै एउटा सर्व शक्तिशाली आयोग बनाउनु पर्छ बनाऔँ । बनाइसकेपछि यसमा कोको दोषी निस्किन्छ ।
प्रधानमन्त्री दोषी निस्किन्छ, पूर्व प्रधानमन्त्री, मन्त्री, सांसद जो दोषी निस्किन्छ, जतिसुकै शक्तिशाली होस्, प्रधानमन्त्री भएको मान्छे होस्, मन्त्री भएको मान्छे होस्, बहालवाला होस्, भूतपूर्व होस्, जो सुकै होस्, तर नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन, १५ वर्षपछि २० वर्ष पछि भएपनि छोड्दैन भन्ने मानक स्थापित गर्न सक्यो भने नौ जवानहरूलाई देश ठिक बाटोमा गयो भन्ने अवस्था बन्छ ।’
प्रकाशित मिति:January 7, 2025