संगठन सुदृढीकरणको कार्ययोजनालाई प्राथमिकतामा राख्दै सकिए एमाले र माओवादी केन्द्रका बैठक

  Sampatti News

January 8, 2025

काठमाण्डू, संसद्का दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले आन्तरिक संगठन सुदृढीकरण अभियानलाई प्राथमिकता दिँदै बैठक सम्पन्न गरेका छन् ।

आइतबारबाट चलेको यी दुवै दलको बैठकले संगठन सुदृढीकरणको कार्ययोजनासहितका पार्टी आन्तरिक जीवनमा महत्व राख्ने विभिन्न निर्णय पारित गर्न सकेका हुन् ।

सत्ताको नेतृत्वकर्ता एमालेले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्नुका साथै पार्टी निर्माणका लागि तीन महिना गाउँ पस्ने कार्ययोजनासहित बैठक सम्पन्न गरेको उक्त दलका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

तीन दिन बसेको बैठकले १४ समसामयिक प्रस्तावसमेत पारित गरेको छ । जसमा कांग्रेस एमाले सम्मिलित संयुक्त सरकार गठनपछि राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन र सम्मृद्धितर्फ आशा जगाएको उल्लेख छ ।

त्यस्तै, देशमा युवाहरूले अवसर नपाएर पलायन हुनुपर्ने अवस्थाप्रति एमालेले चिन्ता प्रकट गरेको छ ।

देशभित्र केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र स्वरोजगारीमा जोड्न र सूचना प्रविधिलगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्न सरकार सफल होस् भन्ने एमालेको कामना छ ।

त्यसै गरी भ्रष्टाचार नियन्त्रणमा सरकारले शुरू गरेका कदमलाई सकारात्मक भनेको एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको छानबिन गरेर निष्कर्षमा पु¥याउन तथा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको उपमहासचिव ज्ञवालीले भनाइ छ ।

त्यस्तो पार्टी विभाजनलगायतका कारणले बाहिर रहेका नेता कार्यकर्ताहरूलाई नेकपा एमालेमा फर्कन आह्वान गरेको छ ।

बैठकबाट एमाले सुदृढ र एकताका साथ अघि बढ्ने आधार तयार भएको भन्दै नेताहरूले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा व्यवहारमा कार्यान्वयन गर्न एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउने संकल्प गरेको बताएका छन् ।

बैठकले पारित गरेको तीनमहिने वडा केन्द्रित कार्ययोजनाअनुसार एमाले नेता कार्यकर्ताहरू माघदेखि चैतसम्म तीन महिनासम्म वडा केन्द्रित कार्यक्रममा जुट्नेछन् ।

जसलाई एमालेले ‘एमाले गाउँ पस्ने योजना’ समेत भनेको हो । मिसन २०८४ मा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने गरी अघि बढेको एमालेले सो प्रयोजनका लागि यसअघि नै १८ वटा कार्ययोजना सार्वजनिक गरेको थियो ।

उता, नेकपा माओवादी केन्द्रले फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्नेछ ।

सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरूको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए ।

अबको पहिलो छ महिना पार्टी निर्माण अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि विशेष महाधिवेशनमा जाने अध्यक्ष दाहालको भनाइ छ ।

छ महिना अभियान सकेर त्यसपछि महाधिवेशनको तयारीमा जाने उनले घोषणा नै गरे । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको नेताहरूले दावी गरेका छन ।

बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिका लागि कोशेढुंगा बन्ने र यसले निरन्तरतामा क्रम भंग गरेको अध्यक्ष दाहालले बताए ।

एमालेले विवादित विषयमा आलोचना गर्नेमाथि कारबाही र निष्कासन गरेर बैठकको सुरुवात गर्दा माओवादीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत उच्च लोकतन्त्रको अभ्यासमार्फत बैठक आयोजना गरी उच्च जनवादको अभ्यास गरेका माओवादीले दावी गरेको छ ।

प्रकाशित मिति:January 8, 2025