January 8, 2025
पोखरा,, कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ ।
उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।
मङ्गलबार लामिछाने तर्फका कानून व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस शुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।
सोमबार र मङ्गलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए ।
यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानूनी व्यवसायीहरूले बहस गरेका थिए ।
सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानून व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानून व्यवसायीको बहस चलिरहेको हो ।
प्रतिवादीहरूको बयान सकिएलगत्तै यही पुस १६ गतेदेखि थुनछेक बहस शुरु भएको थियो । प्रतिवादीतर्फका कानून व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस शुरु हुने जनाइएको छ ।
थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।
लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।
सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:January 8, 2025