January 13, 2025
काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा ०.५९ प्रतिशतको गिरावट हुँदा २६०० को बिन्दुबाट तल झरेको छ । सोमबार नेप्से परिसूचक १५.५४ अंकले गिरावट भएर २५९४.१३ मा झरेको हो ।
नेप्सेमा गिरावट भए पनि सोमबार कारोबार रकम भने उलेख्य बढेको छ । गत बिहीबार ७ अर्बमाथिको कारोबार भएको बजार आइतबार ४ अर्ब पनि पुग्न सकेको थिएन ।
सोमबार भने ६ अर्ब ६५ करोड ९ लाखको सेयर कारोबार भएको छ । ६४ हजार २ सय ७८ कारोबार मार्फत १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता धितोपत्र किनबेच हुँदा उक्त रकम बराबर कारोबार भएको हो ।
निर्माण व्यवसायीको भुक्तानीमा समेत र अन्य क्षेत्रमा समेत कर्जा असुली प्रभावित हुँदा बैंकहरूको वित्तीय विवरण बिग्रिँदै गएको बैंकर बताउँछन् । साना तथा मझौला व्यवसाय कर्जा रिकभरीमा ठूलो समस्या तथा केही क्षेत्रमा धितो लिलाम समेत गर्न नसक्ने अवस्था रहेको बैंकर बताउँछन् । त्यस्तोमा दोस्रो त्रैमासमा वित्तीय विवरणमा दबाब बढ्दै गएको छ ।
यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८७ रुपैयाँ ३० पैसा बढेर ९६० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड २५ लाख ५१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन न्यादी हाइड्रोपावरको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन पावर पार्टनको कारोबार रकम साढे १५ करोड नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। बाँकी उपसमूहको परिसूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
प्रकाशित मिति:January 13, 2025
January 13, 2025