January 22, 2025
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकको वृद्धि भएको छ । बुधबार सेयर बजार ५२.३६ अंक (२ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंक बढेको छ।
अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब २० करोडको भयो । कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो ।
नेप्सेसँगै यस दिन भोल्यूम पनि उच्च बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ९० हजार ६९६ पटकको कारोबारमा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँबराबरको १ करोड ७६ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.२१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ४१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने भने हिमालयन रि इन्स्योरेन्सको करिब ३२ करोडको शेयर किनबेच भएको छ।
प्रकाशित मिति:January 22, 2025