January 29, 2025
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ ।
जलविद्युत् आयाेजना ठेक्का अनियमिततामा ऊर्जामन्त्री दीपक खड्काविरुद्ध परेका उजुरीमा छलफल गर्न ११:३० बजे बाेलाइएकाे बैठक गणपूरक संख्या नपुगेर स्थगित भएकाे हाे । आजको बैठकमा उर्जामन्त्री दिपक खड्कासँग छलफल गर्ने कार्यतालिका थियो ।
तर, २५ सदस्य रहेको समितिमा १० जनामात्र उपस्थिति भएपछि बैठक स्थगित गरिएको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए । अब अर्को बैठकको मिति तोकिएको छैन ।
छलफलका लागि ऊर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री कान्छाराम तामाङ पनि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पुगेका थिए । कोरम नपुगेपछि मन्त्रीद्धय त्यसै फर्किएका छन् ।
प्रकाशित मिति:January 29, 2025