उर्जा मन्त्री खडकाले आफ्नो होटलमा मन्त्रालयको कार्यक्रम गराए

  Sampatti News

January 29, 2025

काठमाडौं । केपी शर्मा ओलीको मन्त्रिमण्डलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका दीपक खड्काका कारण मन्त्रिपरिषदले बारम्बार विवादमा तानिने गरेको एक मन्त्रीले सुनाएका छन् । संखुवासभाका अर्बपति खड्काले विद्युत प्राधिकरणमा आफ्नो कार्यालय खोल्नेदेखि जलविद्युत कम्पनीहरूमा लगानी गर्ने र आफू अनुकुल ठेक्का दिने काम गर्न थालेपछि मन्त्रिपरिषद नै खल्लो हुन थालेको ती मन्त्रीको दाबी छ । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको ठेक्का आह्वानको विषयमा उनी जोडिएका थिए ।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले ऊर्जामन्त्री दीपक खड्काकै होटलमा मन्त्रालयसँग सम्बन्धित विधेयकमाथि छलफल गरेपछि झन् विवादमा तानिएका छन् । मन्त्री खड्काको लगानीमा खुलेको होलिडे इन रिसोर्टमा गत माघ ७ र ८ गते मन्त्रालयकै आयोजनामा जलस्रोत विधेयकमाथि समितिले आवासीय छलफल गरेको विषय बाहिर आएको छ ।

सामान्यतया मन्त्रालय र सांसदहरू बिच विधेयकमाथिको छलफल संसदीय समितिकै हलमा हुन्छ । तर मन्त्री खड्काले आफ्नो होटलमा मन्त्रालयको तर्फबाट विधेयकमाथि छलफल आयोजना गराएका थिए । आफ्नो होटलमा र आफ्नै मन्त्रालयको विधेयकमाथि छलफल राखेर मन्त्री खड्काले स्वार्थ बाँझिने काम गरेका छन् । खड्का दम्पतीको नाममा काठमाडौँको बुढानीलकण्ठ र संखुवासभामा घरजग्गा छन् । खड्काको जमिनमात्रै बुढानीलकण्ठ र चन्द्रागिरिमा २१ रोपनी दुई आना छ । बुढानीलकण्ठमा भने खड्काले होटल खोलेका छन् । सोही होटलमा कार्यक्रम आयोजना गरेका थिए ।

खड्काविरूद्ध पूर्वाधार समितिमा एक महिनाअघि नै छानबिनको माग गर्दै उजुरी परेको थियो । ४ सय ५४ मेगावाटको किमाथाङ्का अरूण जलविद्युत आयोजना र १९ सय २ मेगावाटको मुगु कर्णाली जलासययुक्त आयोजनाको विषयमा सूचना निकाल्नुअघि नयाँ कार्यविधि निर्माण गरिएको र सेटिङमा आयोजना दिने गरी अघि बढाइएको उजुरीमा उल्लेख छ । ललिन्द्र राईका तर्फबाट पुस १२ गते दिइएको उजुरीमा छानबिन माग गरिएको थियो ।

यसैगरी खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि र नेपाल स्काउट बिचको विवाद उत्कर्षमा छ । नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर मन्त्री खड्काको कम्पनीले लामो समयदेखि व्यापार गर्दै आएको थियो । खड्काको कम्पनीले उक्त जग्गामा पार्टी प्यालेस सञ्चालन गर्दै आएको थियो भने दुई वटा भवन विभिन्न पसलहरूलाई भाडामा लगाउँदै आएको थियो ।

यसरी भाडा बापत पैसा उठाए पनि खड्काको कम्पनीले स्काउटलाई पैसा तिर्न अटेर गर्दै आएको छ । यो विषय साम्य हुन नपाउदै जगदुल्ला ठेक्का प्रकरण उनीसँग जोडिएको थियो । हाइड्रो पावरका लगानीकर्तासमेत रहेका खड्कालाई कांग्रेसले स्वार्थ बाझिने गरी उर्जा मन्त्रालयको साँचो सुम्पेपछि उनले आफ्नो असली हर्कत देखाएको मन्त्रालयकै कर्मचारीहरूले समेत आरोप लगाएका छन् ।

लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी र मेन्छेयाम हाइड्रो पावर लिमिटेडका संस्थापक अध्यक्ष रहेका खड्का उर्जा उत्पादकहरूको संस्था इप्पानका सल्लाहकार हुन् । खड्काको कम्पनीले संखुवासभामा सानो क्षमताका जलविद्युत आयोजनाहरू सञ्चालन गर्दै आएको छ ।यस्ता चरित्रका मन्त्री खडकाले विद्युत प्राधिकरणले गरेका राम्रो काम र कुलमान घिसिङका नयाँ नयाँ योजनाको कसिङ्गर किन भएका हुन बुझ्न गाह्रो पर्दैन।

प्रकाशित मिति:January 29, 2025