युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शान्तिको बदलामा आफू राष्ट्रपतिको पद त्याग्न तयार रहेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तानाशाह भन्ने टिप्पणीको जवाफमा जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य र शान्ति स्थापनार्थ आफू पद त्याग्न तयार रहेको बताउनुभएको हो । अमेरिकी राष्ट्रपति ट्रम्मले केही दिन अघि जेलेन्स्कीलाई “चुनाव बिनाको तानाशाह“ भनि टिप्पणी गर्नुभएको थियो ।
जेलेन्स्कीले युक्रेनको शान्तिको शुनिश्चितता भए र युक्रेनले नेटोको सदस्यता पाए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्। आइतबार राजधानी किभमा आयोजित वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र संयुक्त राज्य अमेरिका दुवैको समर्थन आवश्यक रहेको बताए। यस समयमा उनले युक्रेनको नेटो सदस्यता र राष्ट्रपतिको रूपमा आफ्नो बाँकी जीवनको बारेमा सोधिएका प्रश्नहरूको जवाफ दिए।
सोमबारदेखि युक्रेनमा युरोपेली देशका नेताहरूको बैठक हुने तय भएको छ। यसबारे सोधिएको प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय लिनुपर्ने पनि उल्लेख गरे।
उनले सो मिटिङमा रणनीतिको बारेमा छलफल गरिने तथा युक्रेनको लागि सुरक्षा ग्यारेन्टीको बारेमा पनि कुरा गर्ने उल्लेख गरे। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध रोक्न साउदी अरेबियामा रुससँग वार्ता गर्ने बताएका थिए।
वार्ताको मिति अझै घोषणा गरिएको छैन तर अमेरिकाले युक्रेनलाई अझैसम्म यसका लागि निमन्त्रणा गरेको छैन।
जेलेन्स्कीले युद्ध रोक्न हुने छलफलमा युक्रेनलाई समावेश गर्नु महत्त्वपूर्ण भएको बताएका छन्। उनीबाहेक धेरै युरोपेली देशहरूले पनि युक्रेनसँगै युरोपलाई पनि यस्ता वार्तामा समावेश गर्नुपर्ने बताएका छन्।
जेलेन्स्कीले आफ्नो चिन्ता सुरक्षा ग्यारेन्टीको बारेमा भएको पनि बताएका छन्। सम्झौता पछि रूसले भविष्यमा युक्रेनमाथि आक्रमण नगर्ने ग्यारेन्टी चाहेको उनले बताए।
उनले भने, ‘यो युद्ध हो, केटाकेटीहरूको खेल होइन। हामीलाई साझेदारी चाहिन्छ, हामीलाई सहयोग चाहिन्छ तर हामीले हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौं । हामीले हाम्रो सम्मान गुमाउन सक्दैनौं।