March 24, 2025
काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । पछिल्लो ६ कारोबार दिनमा नेप्से १२१.७७ अंक घटेको थियो। बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २६.१० बढेको हो ।
सो वृद्धिपछि नेप्से २६४०.७८ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ : १९ मा २५९३ अंकसम्म झरेको थियो । त्यसपछि बजारले समातेको बढ्दो गति अन्तिमसम्म कायमै रह्यो ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ६ अर्ब ३२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको ५८ हजार २३५ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँबराबरको ९७ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेकाे छ भने पोखरा फाइनान्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.२६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको करिब १३ करोडको शेयर कारोबार भएको छ।
प्रकाशित मिति:March 24, 2025
April 1, 2025
April 1, 2025