March 30, 2025
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै बजारले वृद्धिको लयलाई कायम राखेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ ।
दिउँसो कारोबारका क्रममा १ : ३२ बजे नेप्से २७१८ अंकसम्म पुगेको थियो । त्यसपछि केही बिक्री चाप बढ्न पुग्यो । अघिल्ला दुई दिन लगातार बजार बढेकाले आजको मध्यान्हतिर कतिपयले नाफा बुक गरेका छन् ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५६ करोडको भयो । १ करोड ५५ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत बढेको छ। त्यस्ते, यस दिन दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने कुमारी सबल योजनाको इकाईमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक ५.७९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६९ करोड १९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब ४८ करोडको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ३९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
प्रकाशित मिति:March 30, 2025