प्रचण्डकाे दाबी, ‘छिट्टै नयाँ सरकार बन्छ’

  Sampatti News Online

April 13, 2025

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो सरकार धेरै दिन नरहने बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने बताए ।

नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा ‘प्रचण्ड’ले भने, ‘परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’

उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गर्दै भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

यसअघि ‘प्रचण्ड’ले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने संकेत गरेका थिए । त्यसबारे थप प्रष्ट्याउन पत्रकारहरूले ‘प्रचण्ड’लाई भनेका थिए । तर यसबारे थप बोल्न नलगाउन ‘प्रचण्ड’ले पत्रकारहरूलाई अनुरोध गरे । यद्यपि उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताए । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश त्यतैतिर जाने अनुमान गरे ।

यसबारे धेरै बोल्न नलगाउन आग्रह गर्दै ‘प्रचण्ड’ले भने, ‘पछिल्लो पटक घटनाक्रमहरू नयाँ भए । केही नयाँ अनुभव सहित भनेको हो मैले । ‘केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।’

सरकारमा जानेबारे माओवादी केन्द्रले ध्यान नदिएको दाबी प्रचण्डले गरे । ‘सरकारतिर त्यति ध्यान हाम्रो चाहिँ छैन,’ उनले भने ।

प्रकाशित मिति:April 13, 2025