April 14, 2025
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८२ मा पार्टीभित्र शुद्धीकरण अभियान चलाउन आवश्यक रहेको बताएका छन् । उनले विकृति, विसङ्गति र कुशासनको अन्त्य कांग्रेस पार्टीभित्रैबाट शुरूआत गर्नुपर्ने उल्लेख गरेका छन् ।२०८२ साल सुरु भएको उपलक्ष्यमा सोमबार बिहान शुभकामना वक्तव्य जारी गर्दै कोइरालाले महाधिवेशनलाई टार्ने काम भए त्यो आत्मघाती हुने चेतावनीसमेत दिएका छन्।
नेता कोइरालाले कांग्रेस पार्टी ‘सुकिला मुकिला र पैसावालाको कब्जामा’ जाने खतरा देखेको समेत बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, ‘विपी कोइरालाले भन्नु भएझैँ कांग्रेस पार्टी ‘सुकिला मुकिला र पैसावालाको कब्जामा’ जाने खतरा छ । र म त्यो देख्दैछु ।’ पार्टीको अगुवाईमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’को अभियान चलाउन आवश्क रहेको उनको भनाइ छ ।
उनले यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष भएको बताउँदै भनेका छन्, ‘कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुनेछ । यसतर्फ कांग्रेसका साथीहरुलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु ।’ एकपटक आफू र आफ्नो दलभन्दा देश र जनतामाथि छन् भन्ने सोचले काम गरेमात्रै देशले निकास पाउने उनको भनाइ छ ।
वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।
उनले भने, ‘नेपाली राष्ट्रियता, धर्म–संस्कृति र समृद्धिको लागि एकपटक फेरि नेपाली कांग्रेसमा पुनर्जागरणकाल जगाउनुपर्नेछ । यो तबमात्र सम्भव छ, जब कांग्रेसका साथीहरु जाग्नेछन् । कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियता बिना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव छैन ।’
नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो हुने उनको तर्क छ । ‘कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन’ उनले भनेका छन् ।
प्रकाशित मिति:April 14, 2025
April 23, 2025
April 23, 2025