जनतामा देखिएको निराशा चिर्नसक्ने गरी काम गर्नुपर्छ: गगन थापा

  Sampatti News Online

April 15, 2025

काठमाडौं। कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले गति लिन नसकेको बताएका छन्। दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बने पछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको उनको निष्कर्ष रहेको छ।

‘हामीले के ठानेका थियौं भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनि सके पछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने, गभर्नेन्समा व्यापक सुधार गर्ने भनेर ब्यक्तिगत रूपमा त मैले यस पटक केही भूमिका लिनुपर्छ भनेर सरकार बाहिर नै रहे,’ उनले भने, ‘यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रूपमा योगदान गर्छु भनेर लागे तर सरकारले सोचे अनुसार गति दिन सकेन।’ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म रहेको बताएका छन् ।

‘प्राइभेट सेक्टर र बिचौलिया फरक कुरा हुन, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ ।बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’ उनले आफ्नो अनुभववारे भने ।

उनले राष्ट्र बैंकको गभर्नरको नियुक्तिको प्रसङ्ग जोडदैँ उनले भने, ‘अबको गभर्नर को हो ? भनेर खोज्दा अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था छ ।’

‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि ? भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस हुने, छलफल हुने अवस्था बन्ला कि आउने भनेको हामी कहाँनेर पुग्यौँ ?’ थापाले प्रश्न गरेका छन् ।

प्रकाशित मिति:April 15, 2025