सत्तागठबन्धनभित्र संशय : ओली र देउवाबीच छलफल

Nepal Cover
२ बैशाख २०८२, मंगलवार
image

काठमाडौँ । सत्तागठबन्धनभित्र संशय उब्जिने सङ्केत भइरहेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार काँग्रेस सभापति शेरबहादुर देउवासँग मङ्गलवार बिहान छलफल गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तन हुने अभिव्यक्ति दिइरहेका बेला ओली-देउवा भेटलाई बालुवाटरले भने नियमित छलफल भएको बताएका छन्।

बालुवाटारमा करिब एक घण्टा दुई नेताबीच भएको छलफलमा गठबन्धनको आयु, तथा साझेदारीअनुरूप कार्यशैली नभइरहेको भनी आएका टिप्पणीबीच कुराकानी भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गठबन्धनको औचित्य र अवधिलाई लिएर दुई शीर्ष नेताबीच कुनै पनि किसिमको अन्यौल छैन । उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले काँग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गरेका हुन् ।

‘विगतमा पनि राजनीतिक संयन्त्र र कार्यदलहरूमार्फत नमिलेका विषय हल गर्ने चलन थियो नै, अब पनि हुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘दुवै नेताहरूले सम्भवतः छिटै संयन्त्रमार्फत विषयहरूलाई सहजीकरण गर्न अग्रसरता लिनुहुन्छ ।’

संयन्त्रको बैठक केही दिनभित्रमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन् । हाल काँग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन् । नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति दिएसँगै एमाले र काँग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ ।