नेप्सेमा सामान्य सुधार, कारोबार रकम खस्किँदै

Nepal Cover
३ बैशाख २०८२, बुधबार
image

काठमाडौं । नयाँ वर्ष २०८२ लागेपछिका कारोबारमा नेप्सेमा लगातार सुधार आएको छ । अघिल्लो कारोबार दिन पनि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार २७ अंकले बढेको बजार बुधबार ७ अंकले माथि चढेको छ । दुई कारोबारमा दिनमा नेप्से सूचक ३४ अंकले उकालो लागेको हो ।

बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ७ अर्ब २६ करोडको भयो । कुल १४७ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, बाराही हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र राधी विद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने यस दिन सर्वाधिक ५.५५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने बाराही हाइड्रोपावरको करिब ४३ करोडको शेयर किनबेच भएको छ।