काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन्। स्रोतका अनुसार उनले दुई साताअघि नै राजीनामा दिएको जानकारी प्राप्त भएको छ।
पार्टीभित्रको आन्तरिक समिकरण र असन्तुष्टिपछि श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताइएको छ। पार्टीले भने औपचारिक प्रतिक्रिया दिएको छैन।
श्रेष्ठले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको, अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउन सिक्नुपर्ने उल्लेख गरेकी छन् । श्रेष्ठले भनेकी छन्– सार्वजनिक नीति निर्माणमा भूमिका खेल्ने सांसदले पार्टीको समेत पद ओगट्दा राम्रो सन्देश जाँदैन । त्यसमा अर्को व्यक्ति आउनुपर्छ ।
सुमनाले यसअघि नै राजीनामा दिएको भएपनि आज दिउँसो बस्ने केन्द्रीय समिति बैठक त्यसबारे छलफल हुने बताइएको छ ।