नेप्सेसँगै कारोबार रकम पनि घट्यो

Nepal Cover
७ बैशाख २०८२, आईतवार
image

काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आइतबार घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।  त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ।

बजार खुलेदेखि निरन्तरजसो घटिरह्यो । बैंकहरूले आजै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि लगानीकर्ता सशंकित बनेका हुन् । बैंकहरूको नाफा सामान्य १.४ प्रतिशत बढेको छ ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पाेरेट डेभलपमेन्ट बैंककाे शेयरमूल्य साढे ७ प्रतिशत बढेकाे छ भने बाेटलर्स नेपाल (बालाजु) काे शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेकाे छ। कारोबारमा आएको हिमालयन पावर पार्टनरकाे शेयरमूल्य यस दिन सर्वाधिक ७.३३ प्रतिशत घटेकाे छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६८ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ५७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने बलेफी हाइड्रोपावरको कारोबार रकम साढे ५६ करोड नाघेको छ।