पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लाग्दा, चार जनाको ज्यान गयो, मृतक को-को हुन्?

Nepal Cover
८ बैशाख २०८२, सोमबार
image

काठमाडाैं । विद्युत प्राधिकरणको लापरवाहीका कारण सडकमा लत्रिएको करेन्टयुक्त तारमा अल्झेर गाडीमा आगोलाग्दा ताप्लेजुङमा चार जनाको ज्यान गएको छ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सडकमा झरेको बिजुलीको तारले मे १ ज ३०११ नम्बरको बोलेरोमा करेन्ट लागेर आगलागी भएको हो ।

घटनामा २ जना घाइते भएका छन् । घाइतेमध्ये ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका १० वर्षीय छोरा भविमय आचार्यको अवस्था मध्यम रहेको छ । दुवैलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिएका छन् ।