पाँच गम्भीर अभियोगमा दुर्गा प्रसाईंविरुद्ध बयान सुरु

Nepal Cover
९ बैशाख २०८२, मंगलवार
image

काठमाडौं ।  तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंविरुद्ध पाँचवटा विभिन्न अभियोगमा बयान लिन थालिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा सोमबारदेखि प्रसाईँको बयान लिने काम अघि बढाइएको हो ।

सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार सोमबार समय अभावका कारण छोटो समय मात्र बयान लिइएको थियो भने मङ्गलवारदेखि थप विस्तृत रूपमा बयान लिने कार्य जारी छ ।

प्रसाईँमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध (राजद्रोह), र आपराधिक उपद्रवजस्ता गम्भीर अभियोगमा अनुसन्धान भइरहेको छ। स्रोतका अनुसार, उनीमाथि सबैभन्दा बलियो मुद्दा ‘ज्यान मार्ने उद्योग’ को रहेको छ ।

ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूलाई गाडीले जानाजान पेल्ने प्रयास गरेको भिडियो सार्वजनिक भइसकेको छ, जसमा प्रसाईँ आफैँले गाडी चलाउँदै अपशब्द बोल्दै प्रहरीमाथि हमला गरिरहेको देखिन्छ । सोही आधारमा सुरक्षाकर्मीले उनी विरुद्ध उजुरी दिएको बताइएको छ।

१५ चैतको प्रदर्शन हिंसात्मक बनेपछि कीर्तिपुरका सविन महर्जन प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए भने पत्रकार सुरेश रजक प्रदर्शनकारीले लगाएको आगोमा जलेर मारिएका थिए। प्रदर्शनका क्रममा निजी घर, पसल, सवारीसाधनमा आगजनी र तोडफोड भएको थियो । प्रदर्शनपछि अहिले सम्म ८४ जना पक्राउ परिसकेका छन् ।