नीति तथा कार्यक्रम वैशाख १९ मा ल्याउने तयारी

Nepal Cover
१० बैशाख २०८२, बुधबार
image

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम यही वैशाख १९ गते संसद्‍मा पेस हुने भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई सरकारले १९ गते नीति तथा कार्यक्रम पेस गर्ने गरी तयारी गरिरहेको जानकारी गराएका हुन् । 

बैशाख १२ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सो बैठकमा संसदको कार्यतालिकासमेत कार्यव्यवस्था परामर्श समितिमा पेश गरिनेछ। छलफलमा विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको बताइएको छ। विधेयक सदनमा प्रस्तुत भएपछि तत्कालै पारित गर्ने तयारी गरिएको छ। उपसमितिले बैशाख २३ गतेभित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा विधेयकलाई प्राथमिकतामा राखिनेछ।

सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकका कारण संसद नियमित सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका छन्। त्यसैले शनिबार र सार्वजनिक बिदाबाहेक अन्य सबै दिन संसद बैठक सञ्चालन गरिने प्रस्ताव गरिएको छ, जसलाई छलफलमा सहमति दिइएको छ। यसै अनुरूपको क्यालेन्डर कार्यव्यवस्था परामर्श समितिमा प्रस्तुत गरिने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन्।