काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ७५ पृष्ठको श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत श्वेत पत्र सार्वजनिक गरेका हुन्। प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख छ । श्वेतपत्रअनुसार विद्युतको पहुँच ९७.५ प्रतिशत पालिकामा मात्रै विद्युत पहुँच पुगेको छ । घर संरचनाको आधारमा ९१.४१ प्रतिशत विद्युत् पुगेको देखिएको छ ।
फागुन मसान्तसम्म आन्तरिक माग २३३७ मेगावाट रहेको छ। यो आर्थिक वर्षको अन्त्यसम्म त्यस्तो माग २४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ।
माग र आपूर्तिको असन्तुलनले वर्षायामको विद्युत खेर गएको छ भने सुख्खायाममा विद्युतको माग बढिरहेको छ र पूर्ण रुपमा आपूर्ति गर्न नसकिएको शाक्यले बताए।
उनले भने,‘आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ। प्राधिकरणको प्रक्षेपणअनुसार ०८२/८३ मा वर्षायाममा २६४८ मेगावाट , ०८३/८४ मा ३३१६ मेगावाट विद्युत जगेडा रहनेछ। यो निर्यात हुनुपर्ने देखिएको छ। तर त्यही समयमा २०८२/८३ को सुख्खायाममा ७९१ मेगावाट र ०८३/८४ मा ७२८ मेगावट अपुग आयात गर्नुपर्ने देखिन्छ।’
शाक्यले आगामी दिनमा विद्युत आयात शुन्य नहुने बताए। अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने उनले बताए।
शाक्यका अनुसार यसको दिगो समाधान र उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री उर्जा भण्डारण प्रणाली निर्माण गरी उर्जा भण्डारण गर्नुपर्छ। यससँगै विद्युत खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्याउन सबै प्रयास गर्नुपर्छ।