काठमाडौं । यस साताको पहिलो दिनको शेयर बजार पनि घटेर बन्द भएको छ । आइतबार बजार खुलेदेखि दिनभर नै सकारात्मक रहेको बजार बन्द हुने समयमा आएर घटेर बन्द भएको हो । यसदिन नेप्से सूचक तथा कारोबार रकम दुवैमा गिरावट आएको छ ।
सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड कम हो । सवा ९ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ३.४४ अंक घटेको छ । सो गिरावटपछि २६२० मा कायम भएको छ ।
बजारमा आइतबार हाइड्रोपावर कम्पनीहरुको अधिक कारोबार भएको छ । अरु बेला पनि यो सेक्टरका कम्पनीको उच्च कारोबार हुने गरेको छ । तर आइतबार भने करिब ५९ प्रतिशत हिस्सा यहीं एउटा सेक्टरले ओगट्यो ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३० प्रतिशत घटेको छ।
यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यी तीनै कम्पनी नेप्सेमा भर्खरै थपिएका कम्पनी हुन । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ जसको ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ५५ करोडभन्दा बढीको शेयर कारोबार भयो ।