काठमाडौँ । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगर प्रहरीको गुण्डागर्दीबाट कवाड व्यवसायीमाथि ज्यादती भएको भन्दै त्यस्ता कार्य रोकेर व्यवसायलाई सुरक्षाको प्रत्याभूतिलगायतका माग राखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासमक्ष ज्ञापनपत्र बुझाएको हो।
सोमबार मन्त्रालयमा समितिका संयोजक रामकेवल गुप्ता रौनियारसहित ओम प्रकाश सिंह, मनोहर प्रसाद चौधरी, सुरेश शाह र सरोज श्रेष्ठको टोलीले मन्त्री गुप्तासँग भेट गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि गुण्डागर्दी शैलीमा कवाड व्यवसायीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्दै आएको भन्दै उनीहरूले आफ्नो पेशागतसहित जिउधनको सुरक्षाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग हारगुहार गरेका हुन्।
‘काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरूमाथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरू भत्काउने, संकलक र मजदुरका साइकल र सामान जफत गर्ने काम गरिरहेको छ,’ ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष राम केवल गुप्ताले भने, ‘काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलकहरूको टाउको फुटेको र अंगभंग भएका छन्। खासगरी भन्ने हो भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरबाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेका छन्।’
कवाड व्यवसायी र संकलकमाथि भइरहेको यो प्रकारको महानगरको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षा गरिदिन उनीहरूले मन्त्री गुप्तासमक्ष अनुरोध गरेका छन्। अध्यक्ष गुप्ताका अनुसार हाल यो व्यवसायमा एक लाख मानिस प्रत्यक्ष रोजगारमा आवद्ध छन्।
