काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र नफर्काई राजावादी समूह नफुट्ने दाबी गरेका छन् । बिहीबार राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जनआन्दोलन घोषणा गरेको छ ।
उनले भीडले नेताहरूलाई विस्थापित गरेर वा राजनीतिक दलहरूको बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापना हुने भन्दै आफूहरू दल सबै अटाउने प्रजातन्त्रसहिको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरे । लिङ्देनले राजसंस्था र प्रजातन्त्र एक–अर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समाजलाई विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प नभएको धारणा राखे।
उनले पूर्वराजाको स्वागतमा आफूहरूले अहिलेसम्मै ठूलो जनसागर देखेको बताए । यद्दपी केहि सञ्चारमाध्यमले पूर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको उनले बताए। उनले अहिलेको अवस्थामा सञ्चारजगत पूवाग्राही बन्न नहुने र देशको परिवर्तनको यात्रालाई अन्देखा गरेर देशलाई दुर्घटनार्फत लैजान दिन नहुने उल्लेख गरे।