काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन्।
प्रहरीले नारायणघाट–बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मध्यबिन्दु नगरपालिका– ७ र ८ जोड्ने गिरुवारी खोलाको पुलको बीच भाग भासिएर जोखिम बढेपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न भनेको हो ।
जिल्ला प्रहरी कार्यालयका नवलपुरका अनुसार मल्टी एक्सल टेलरहरू बाहेकका सवारीहरू पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण लागि तम्सरिया गाउँबाट हाल (पानी नभएको) खोला तरेर रानिटार हुँदै फूलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कनुपर्ने छ ।
त्यसैगरी पश्चिमबाट आएका सवारी साधनको हकमा फूलबारीबाट दक्षिण लागि रानिटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने सकिनेछन् । चोरमारामा सोमबार राति १८ चक्के ट्रक गुडिरहेको बेलामा पुल भासिएको थियो ।