कुशल प्रशासक पौडेल सचिबमा बढुवा हुँदै

Nepal Cover
१ जेष्ठ २०८२, बुधबार
image

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदका लागि वरिष्ठ सहसचिव सोभाकान्त पौडेलको नाम सिफारिस गरेको समाचार जानकारीमा आएको छ।

प्राप्त जानकारी अनुसार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पौडेलको नाम सिफारिस गरेको बताइएको छ। निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकन ९८० प्रतिशत० र ज्येष्ठता (२० प्रतिशत) का आधारमा हुने बढुवा प्रक्रियामा चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा एक जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ। सोहीअनुसार सबैभन्दा ज्येष्ठ सहसचिव पौडेलको नाम सिफारिस भएको हो।

आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ। उनलाई प्रदेशमा प्रमुख सचिवको रूपमा पदस्थापन गरिनेछ भने रिक्त सचिव पदमा प्रदेश प्रमुख सचिवहरूमध्येबाट एक जनालाई संघमा ल्याइनेछ।सोही बैठकले सचिव बढुवा सिफारिसमा पहिलो नम्बरमा रहेका एक वरिष्ठ सहसचिवलाई निमित्त प्रदेश प्रमुख सचिवमा नियुक्त गर्न सक्नेछ। ती सहसचिवलाई संघमा आउने प्रदेश प्रमुख सचिवको स्थानमा पदस्थापन गरिनेछ।

पर्यटन सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएपछि रिक्त भएको सचिव पदमा पौडेलको बढुवा हुन लागेका हुन। खरो स्वभावका पौडेल प्रष्ट सग कुरा राख्ने र नागरिकको हितमा निरन्तर लागिरहेका प्रशासकका रुपमा परिचित छ्न। जहाँ जहाँ बसे नतिजा ल्याएर कार्यसम्पादनमा अब्बल नै देखिएको उनका कार्य नजिकबाट हेर्नेहरुको धारणा छ।