काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ खुलाएको हो । उक्त आईपीओ जेठ १३ गतेसम्म भर्न सकिने छ ।
आम सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन तथा खुला हुनेछ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै कम्पनीले आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ।
कम्पनीले इलाम जिल्लाका स्थानीयलाई ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३७ करोड ९० लाख बराबरको ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति दिएको थियो।
कम्पनीले इलाममा ७.६ मेगावट क्षमताको जोगमाइ खोला आयोजनाबाट २०७४ वैशाख १८ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ। त्यस्तै इलाम मै ५.२ मेगावट क्षमताको जोगमाई क्यासकेड आयोजना निर्माण गरिरहेको छ।