रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा २८ तोला सुन लेपन गरिएको गजुर राखियो

  Sampatti News

October 2, 2020

काठमाडौँ । रानीपोखरी पुनर्निर्माणसँगै बिच भागको बालगोपालेश्वर मन्दिर पनि अन्तिम चरणमा पुगेको छ । बिहीबार बालगोपालेश्वर मन्दिरमा २८ तोला सुनले लेपन गरिएको गजुर प्रतिस्थापन गरिएको छ । गजुरमा २८ तोला सुनले लेपन गरिएको छ । बिहीबार बिहान ८ बजेको शुभसाइतमा मन्दिरमा राख्न लागिएको हो ।

गजुर प्रतिस्थापनक्रममा क्षमापुजा गर्ने प्रचलन अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्वविद् राजुमान मानन्धरले चलनअनुसार सामान्य पुजा गरेर राख्न लागिएको जानकारी दिएका थिए ।

पुनर्निर्माणअन्तर्गत पोखरीवरपर सरसफाइलगायत केही काममात्रै बाँकी छन्। प्राधिकरणले रानीपोखरीमा माछाका भुरा हाल्ने तयारी पनि गरेको छ ।

पुनर्निर्माण जिम्मा सुरुमा काठमाडौं महानगरपालिकाले लिएको थियो । तर, सुरु गरिएसँगै सम्पदामा सिमेन्ट र छड प्रयोग भएपछि विवाद उत्पन्न भयो । लामो समय विवाद जारी रहे पनि मन्त्रिपरिषद्ले रानीपोखरी पुनर्निर्माण जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दियो । प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनर्निर्माण काम सम्पन्न गराएको हो ।
प्राधिकरणले रानीपोखरी पुनर्निर्माण १२ वैशाख २०७७ मा भूकम्प गएकै दिन सक्नेगरी अघि बढाएको थियो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण पुनर्निर्माण ढिलाई भयो ।

३ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माण शिलान्यास गरेकी थिइन् । पुनर्निर्माणसम्बन्धी विवाद, कोरोना महामारी, लकडाउन, निषेधाज्ञालगायत संकट झेल्दै शिलान्यासको करिब पाँच वर्षपछि पुनर्निर्माण अन्तिम चरणमा पुगेको हो ।

यसअघि नै रानीपोखरीे पिँधमा कालो माटो र इँटा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माण सकिएसँगै रानीपोखरीमा पानी भरिसकिएको छ ।

पोखरीमा आकाशबाट जम्मा भएको र बाँकी बाग्मती नदीबाट पाइमार्फत ३ करोड २२ लाख लिटर पानी भरिएको छ । पि“ध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालीगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाडौंका कालीगढ सहभागी भएका थिए ।

प्रकाशित मिति:October 2, 2020