काठमाडौँ । भिजिट भिसामा बदमासी गरेको प्रकरणमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका थप आठ जना कर्मचारीलाई तानेको छ ।
गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो।
भिजिट भिसामा शंकास्पद गतिवधि गरेका अन्य आठ जनाको सरुवा गरिएको छ। प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ। तीनै जना र नायब सुब्बा पदमा कार्यरत थिए।
सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरु कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको छ। गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव छवि रिजालले आठ जनालाई सरुवा गरेका हुन्।
यसअघि गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई बयान लिइसकेको छ। अख्तियारले उनलाई जेठ ७ गते गृहमन्त्रालयबाट नियन्त्रणमा लिएको थियो। उनी जेठ ६ गतेमात्रै अध्यागमन विभागबाट गृहमन्त्रालय सरुवा भएर आएका थिए।
अख्तियारले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइसकेको छ।