काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । जेठ ८ गते मेयरको निर्देशनमा सोधिएको स्पष्टीकरणमा मेयरको व्यक्तिगत चरित्रमाथि आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ।
अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर रहेर व्यक्तिगत चरित्र हत्या, सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य गरेको भन्दै बालेनको सचिवालयले मानन्धरलाई स्पष्टीकरण सोधेको हो ।
आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए । स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज उठाउनु रहेको उनको भनाइ छ ।
‘केहि पनि विषय तोकिएको छैन । मैले अहिले बोलिरहेको विषयमा उहाँको आपत्ति रहेको बुझेको छु, यद्यपि पत्र मेरो हातमा परिसकेको छैन’ उनले भने ।मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रवक्ता मानन्धरलगायतका वडाध्यक्षहरूले बालेनको एकल निर्णयलाई विरोध गर्दै आएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा प्रवक्ता मानन्धरले मुख्य भूमिका खेलेका थिए ।