काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत्र १५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीहरूको आज (सोमबार) देखि जिल्ला अदालत काठमाडौंमा बयान हुने भएको छ।
राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको भोलिपल्टै काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी प्रसाईंको बयान सुरु भएको हो। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा आज प्रसाईँको मात्रै बयान भएको अदालत प्रशासनले जनाएको छ।
राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान सकेपछि थुनकेछसम्बन्धी बहस हुनेछ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उपाध्यक्ष धवलशमशेर राणा भने आज अदालतमा उपस्थित भएनन्।
उनीहरू आफैँ उपस्थित नभए पक्राउ पूर्जी जारी गरेर भए पनि अदालतमा उपस्थित गराइने अदालत स्रोतको दावी छ। दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा सरकारी वकिलले ६१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
५० जनालाई राज्यविरुद्धको कसुरमा र अरु ११ जनालाई आपराधिक उपद्रव गरेको अभियोग लगाइएको छ। पक्राउपरेका मध्ये ३४ जनाविरुद्ध मुद्दा चलाइएन।