काठमाडौं । बजेटले पूँजीगत लाभकर बढाउने चर्चापछि अघिल्लो दिन ५ अंक घटेको सेयर बजार मंगलबार झिनो अंकमा बढेको छ ।
आज नेप्से जम्मा ०.८५ अंक बढेको हो । सो वृद्धिपछि २६७५.६२ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । आज ६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबारको बजारमा ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
यस दिन कारोबारमा आएका मध्ये ५ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । जसमध्येमा कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी डेभलपमेन्ट र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन गुँरास लघुवित्त वित्तीय संस्थाको सार्वधिक घटेर कारोबार भएको छ । यस लघुवित्तको शेयर मूल्य ७.०९ प्रतिशतले घटेको हो भने उपकार लघुवित्तको ४.७९ प्रतिशतले शेयर मूल्य घटेर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन यूनिभर्सल पावर कम्पनीको शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ५८ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ४७ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।