October 2, 2020
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै आजबाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकि छिन् ।
स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको जनाएको छ । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको मेगा बैंक सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।
‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो,’ मेगा बैंककी सिइओ खुञ्जेलीले भनिन् – ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’
व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिंदै आएकोे मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरुको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । जसअनुसार यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ ।
किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ ।
प्रकाशित मिति:October 2, 2020
November 23, 2024