काठमाडौँ । नेपालको विद्युत् र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि विश्व बैंकले २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ ।
विश्व बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो । नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिंचाई सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि उक्त ऋण सुविधा उपलब्ध गराइएको हो ।
१२० मिलियन डलर लागतको विद्युत् आपूर्ति भरपर्दो बनाउने परियोजना अन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण सञ्जाललाई मजबुत बनाउने, नयाँ वितरण सबस्टेशन निर्माण गर्ने, विद्यमान सञ्जालहरू स्तरोन्नति गर्ने तथा वितरण सञ्जालको वास्तविक समय निगरानी गर्न स्वचालित प्रणाली कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । यो परियोजना कार्यान्वयन नेपाल विद्युत् प्राधिकरणले गर्नेछ ।
१३७ मिलियन डलर भने रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गतको आयोजनामा खर्च गर्ने लक्ष्य छ । यसले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षभरी सिँचाइ सुविधा विस्तार गर्ने, कृषि उत्पादनमा वृद्धि ल्याउने र जलवायु सहनशीलता मजबुत बनाउने काम गर्ने विश्व बैंकको भनाइ छ ।
यो परियोजना जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागले संयुक्त रूपमा कार्यान्वयन गर्दैछन् । यस परियोजनाबाट थप १७,५०० हेक्टर क्षेत्रफलमा वर्षभर सिँचाइ सुविधा पुग्ने र करिब १,६०,००० जनसङ्ख्या लाभान्वित हुने अनुमान छ ।