नापी कार्यालयका एक निरीक्षकविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन

Nepal Cover
२२ जेष्ठ २०८२, बुधबार
image

काठमाडौँ । नापी कार्यालयका सर्वेक्षक विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीविरुद्ध बुधबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। उनीहरूले रुपन्देही जिल्लाको साविक बुटवल–९ख को कित्ता नं. ३०४७ रहेको सार्वजनिक जग्गा व्यक्तिगत नाममा दर्ता गराई लाभ दिलाउने कार्यमा संलग्न भएको देखिएको हुँदा उनीहरूलाई कैद र जरिवानाको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र पेस गरिएको अख्तियारले जनाएको छ।

तर विशेष अदालतले २०८१ जेठ १६ गते उक्त मुद्दामा सफाइ दिएको थियो। सो फैसलाविरुद्ध २०८२ जेठ २१ गते आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

मरासिनीसहित अन्य केही प्रतिवादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी निकायको कागजात अनधिकृत वा गैरकानुनी तरिकाले सच्याउने तथा हेरफेर गर्ने र सोही ऐनको दफा ८ को उपदफा (९)(ज) बमोजिम सार्वजनिक जग्गा व्यक्तिका नाममा कायम गरी ती व्यक्तिलाई लाभ पुग्ने गरी खरिद–बिक्री गराउने कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको थियो।