नेप्सेकाे  गिरावट सँगै, कारोबार रकम पनि घट्यो

Nepal Cover
२२ जेष्ठ २०८२, बुधबार
image

काठमाडौं । बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स २.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक घटेको छ।

अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रह्यो ।

ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ओम मेगाश्रीको शेयरमूल्य १८१ रुपैयाँ २७ पैसा बढेर १ हजार ९९४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने पियोर इनर्जीको ४२ रुपैयाँ ३० पैसा बढेर ४६५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सुपर माई हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ५.८१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको करिब ३० करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको करिब साढे २२ करोडको शेयर किनबेच भएको छ।