निजी क्षेत्रलाई समेटेर विकास गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा

Nepal Cover
२२ जेष्ठ २०८२, बुधबार
image

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निजी क्षेत्रलाई समेटेर विकासको खाका तयार गर्नुपर्ने बताउनु भएको छ। 

आगामी असोजमा हुने सुदूरपश्चिम लगानी तथा विकासको तयारी सम्मेलनको बुधबार धगढीमा उद्घाटन गर्दै उहाँले अहिलेको युग सरकारले कस्तो विकास गर्ने, कसरी विकास गर्ने भन्ने छलफल समेत निजी क्षेत्रसँग गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो। 

उनले अब विश्व बैंक, एसियाली विकास बैंक मात्र नभएर लगानी गर्ने अन्य दाता पनि खोज्न जरुरी रहेको बताइन्। पहाडमा विकास भएको तर मान्छे पहाडमा बस्न छोडेको भन्दै उनले त्यो कुरालाई समेत ध्यानमा राखेर एकीकृत विकास गर्नुपर्छ भन्नेमा उनले जोड दिइन् ।

सुदूरपश्चिम प्रदेश सरकारले रोजगारी पनि बढ्ने, राजश्व पनि संकलन हुने अपेक्षा सहित बेतन कर्णाली जल विद्युत् आयोजना आफै सञ्चालन गर्ने आकांक्षा राखेको चर्चा गर्दे परराष्ट्र मन्त्री डा. देउवाले त्यो विषयमा संघीय सरकारले छलफल गर्ने बताइन्।

उनले सुदूरपश्चिम फाप्ला क्रिकेट मैदान बन्ने चर्चा गरिन्। उनले भनिन्, ‘‘भारतको समेत सहयोगमा धनगढीको फाप्ला क्रिकेट मैदान बनाउँदै छौँ, यसमा प्रदेश सरकारको समेत उल्लेख्य सहयोग छ।’’

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको लगानी सम्मेलनको पूर्व तयारी कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, विभिन्न देशका राजदूत, विश्व बैंक, एसियाली विकास बैंक लगायतका दातृ निकायका नेपाल प्रमुख, गैरआवासीय नेपाली संघका प्रतिनिधिको सहभागिता रहेको छ।