आयआर्जनका लागि बुहारीलाई आर्थिक सहयोग

  Sampatti News

October 2, 2020

काठमाडौँ । बन्दाबन्दी र निषेधाज्ञाले समस्यामा परेका सीमान्तकृत परिवारका २३ बुहारीलाई पशुपालन तथा साना व्यवसाय गरेर आत्मनिर्भर हुनका लागि अनुदान रकम प्रदान गरिएको छ ।

युकेएडको आर्थिक सहयोग र भीएसओ नेपाल तथा इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जनउत्थान केन्द्र लहान सिरहाद्वारा सञ्चालित ‘समग्र लैङ्गिक उत्तरदायी न्यायमा पहुँच सुदृढीकरण परियोजना (सहज)’अन्तर्गत सिरहाका छ र सप्तरीका १७ गरी कूल २३ सीमान्तकृत परिवारका बुहारीलाई आयआर्जन गरी आत्मनिर्भर हुन अनुदान रकम प्रदान गरिएको हो । प्रति परिवारका बुहारीलाई रु ३० हजारको दरले अनुदान रकम उपलब्ध गराएको समग्र जन उत्थान केन्द्र लहानका निर्देशक देवराज पोखरेलले जानकारी दिए ।

यसरी अनुदान रकम पाउनेमा सिरहा नगरपालिका–१ का इन्दिला कुमारी पासवान, लक्ष्मीनियाँ कुमारी पासवान, उर्मिला मेस्तनी, अमृता कुमारी, संजु कुमारी पासवान र बिमला कुमारी सिंह रहेका छन् । त्यस्तै सप्तरीको बोदे बर्साइन नगरपालिका, राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका १७ परिवारका बुहारीलाई पनि अनुदान रकम उपलब्ध गराइएको छ । यो रकमबाट उनीहरु बाख्रापालन, भैंसीपालन र अन्य साना व्यवसाय गर्ने बताइएको छ । उक्त रकमको चेक आज सबै बुहारीलाई हस्तान्तरण गरेको निर्देशक पोखरेलले जानकारी दिए ।

घरमा आत्मसम्मान र निर्णय प्रक्रियामा सहभागिता बढाउन पनि बुहारीको आर्थिक सशक्तीकरणसँगै समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरूरी रहेकाले सहज परियोजनामार्फत यो अभियानको थालनी गरेको उनले बताए ।

यसैगरी राजविराज नगरपालिका–५ का दुई परिवार र तिलाठी कोईलाडी गाउँपालिका–५ का पाँच परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरेको समग्र जन उत्थान केन्द्रका जिविकोपार्जन सल्लाहकार रामनाथ साहले जानकारी दिए । उनले सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत आयआर्जनका लागि व्यवसाय गर्न सप्तरीको बोदे बर्साइन नगरपालिका, राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सिरहाको सिरहा नगरपालिकाका ८० परिवारलाई रू।३० हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने लक्ष्य लिएको बताए ।

चेक हस्तान्तरण कार्यक्रममा भीएसओ नेपालका प्रतिनिधि सुनिल कुमार साह, बोदे बर्साइन नगरपालिका–५ का वडाध्यक्ष मो. मजेबुल रहमान, वडा सदस्य रूपनी देवी राम, समग्र जन उत्थान केन्द्रका स्थानीय सहजकर्ता लोकेन्द्रप्रसाद यादव, ओमप्रकाश ठाकुर, रिता पंडित, विणाकुमारी पंडित लगायतको सहभागिता थियो ।

प्रकाशित मिति:October 2, 2020