काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई प्रहरीले अदालतमा पेश गरेको छ । शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी युवराज खड्काले रोकाविरुद्ध मुद्दा दर्ता भइसकेकाले सरकारी वकिलमार्फत अदालत लगिएको बताए ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । इन्टरपोलको डिफ्यूजन नोटिस जारी भएकी रोका सुन तस्करीमा संलग्न बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । ठमेलको होटेल भियना उनकै नाममा छ ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन विमानस्थलबाट ६१ किलो सुन बरामद गरेको थियो । अनुसन्धानका लागि विभागले सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो । माओवादी नेतृसमेत रहेकी रोकासँगै तीन चिनियाँ नागरिक र पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका छन् । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले पुनको बयान लिएको थियो ।