काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन साेमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ । आइतबार ९ अर्ब १४ करोडको सेयर खरिदबिक्री भएको थियाे ।
यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३४ रुपैयाँ ८० पैसा बढेर ३८३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड १८ लाख ५९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ४२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम साढे ३३ करोड नाघेको छ।