काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सुवेदीका साथै तृप्ति शाही ठकुरी भन्ने तृप्ति शाही र कुमारी बैंकका एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई पनि प्रतिवादी बनाएको छ ।
उनीहरूले २०८० साउन १ देखि २०८१ साउन ३२ गतेसम्मको अवधिमा संकलन भएको ३४ लाख ३ हजार ८५६ रुपैयाँ राजस्व मध्ये ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्रै अस्पतालको खातामा दाखिला गरेको पाइएको आयोगले जनाएको छ । साथै २५ लाख ६७ हजार ५२६ रुपैयाँ उनीहरूले हिनामिना गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
सुवेदी र शाही विरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ र मगरविरुद्ध २४ लाख २ हजार ९० रुपैयाँ बिगो मागदाबी गरेको छ । साथै बिगो बमोजिम जरिवाना र बिगो असुल उपरको मागदाबी पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।