काठमाडौं । रौतहटमा बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा जलाएर मारेको अभियोगमा जन्मकैद भोगिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई सफाइ दिने उच्च अदालतका दुई न्यायाधीशमाथि न्याय परिषदमा अर्को उजुरी परेको छ।
उनीहरुविरुद्ध रौतहट इशानाथ नगरपालिका–५ का शैलेन्द्र साहले उजरी दिएका हुन्। उजुरीमा साहले न्यायाधीश थारु र महर्जनको सिडिआर (कल डिटेल रिपोर्ट) अध्ययन गरिनुपर्ने माग गरेका छन्।
त्यस्तै, साहले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाबिरुद्ध पनि परिषद्मा उजुरी दिएका छन्। मन्त्री चौरासियाको आर्थिक चलखेल र दवावपछि आलमसहितका प्रतिवादीलाई न्यायधीशद्वय थारु र महर्जनले सफाई दिएको भन्दै उनको पनि सिडिआर उतारी अध्ययन गरिनुपर्ने उजुरीमा भनिएको छ।
साहको उजुरीमा उल्लेख छ, ‘अजय चौरासियाको दवाब र आर्थिक चलखेलसमेतको कारणले प्रतिवादीहरुलाई सफाई दिएको भनी बिभिन्न माध्यम र स्थानीयका जनगुनासो सुनिन आएकाले चौरासिया र न्यायधीशद्वय थारु र महर्जनसमेतको कल डिटेल प्रतिबेदनसमेत झिकाई यस सम्बन्धमा जे जो बुझ्न पर्ने हो बुझि निजहरुविरुद्ध अनुसन्धान गरियोस्।’
साह २८ चैत ०६४ को संविधान सभा निर्वाचनमा आलमका चुनावी प्रतिस्पर्धी हुन्। उनी रौतहट निर्वाचन क्षेत्र नं २ बाट एमालेको तर्फबाट चुनावमा उठेका थिए। उनी घटनाका प्रत्यक्षदर्शी पनि हुन्।
आलमविरुद्ध उनैले पहिलो पटक ३० चैत ०६४ मा जिल्ला प्रहरी कार्यालय रौतहटमा जोहरी दिएका थिए। तर, उनको जाहेरीमा प्रहरीले कुनै कारबाही अघि बढाएको थिएन।