काठमाडौं । विशेष अदालतमा एक ऐतिहासिक प्रकृतिको इजलास गठन भएको छ। अदालतको अवहेलनासम्बन्धी एक प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्न विशेष अदालतले आफ्ना ६ जना न्यायाधीशको बृहत्तर इजलास गठन गरेको हो। यो विशेष अदालतको इतिहासमै अहिलेसम्मकै ठूलो इजलास हो।
विशेष अदालतका छ जना कर्मचारीले “दृष्टि साप्ताहिक” र त्यसको अनलाइन संस्करणमा प्रकाशित समाचारले अदालतको अवहेलना भएको दाबी गर्दै प्रतिवेदन दर्ता गराएका थिए। उक्त प्रतिवेदनमाथि सुनुवाइ गर्न अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलास बसेको हो।
सामान्यतया: विशेष अदालतले भ्रष्टाचार मुद्दाको सुनुवाईमा तीन जना बाहेकका न्यायाधीशको इजलास गठन गरेको थिएन । तर, अवहेलनाको विषय जोडिएको भन्दै सबै न्यायाधीश सम्मिलित इजलास गठन गरेको हो ।
‘उक्त सञ्चारमाध्यममा श्रृङखलावद्ध रुपमा प्रकाशित समाचारले अवहेलनाको कसुर आकर्षित हुने देखियो, त्यसमा कारवाही हुनुपर्छ भनेर प्रतिवेदन पेश भएको हो’ विशेष अदालत स्रोतले भन्यो, ‘प्रारम्भिक सुनुवाई सकिएको छ, आज अपरान्हसम्म केही आदेश आउनसक्छ ।’